२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

कोलोराडोमा प्रदर्शनकारीमाथि आक्रमण गर्ने अध्यागमन अधिकारीविरुद्ध मुद्दा दर्ता

कोलोराडोमा प्रदर्शनकारीमाथि आक्रमण गर्ने अध्यागमन अधिकारीविरुद्ध मुद्दा दर्ता

न्युयोर्क- कोलोराडोमा एक प्रदर्शनकारीलाई घाँटी अठ्याएर लछारेको आरोपमा एक अध्यागमन अधिकारीविरुद्ध कुटपिट र आपराधिक नोक्सानीको मुद्दा दर्ता भएको छ। बुधबार त्यहाँका सरकारी वकिलले यसको जानकारी दिएका छन्।

सार्वजनिक भएका भिडियोहरूमा अनुहार छोपेका एक अधिकारीले फ्रान्सी स्टागी नाम गरेकी महिलालाई घाँटी अठ्याएर सडकको अर्को छेउमा पुर्‍याएको देखिन्छ। गत अक्टोबर २७ मा तीन जना कोलम्बियाली शरणार्थीलाई पक्राउ गरेको विरोधमा कोलोराडोको डुरान्गोमा रहेको अध्यागमन कार्यालयबाहिर प्रदर्शन भएको थियो। पक्राउ पर्नेमा विद्यालय जाँदै र फर्कंदै गरेका एक पुरुष र दुई बालबालिका थिए।

अधिकारीले भवनबाहिर राखिएका सामान हटाउँदै गर्दा स्टागीले त्यसको भिडियो खिचिरहेकी थिइन्। ती अधिकारीले आफ्नो हातमा जोडले हानेर फोन खसालिदिएको स्टागीले बताइन्। त्यसपछि आफूले अधिकारीको काँधमा छोएर ध्यानाकर्षण गराउन खोज्दा उनले कपालमा समातेर, घाँटी अठ्याउँदै सडक पार गराएर सडकको अर्को छेउमा लगेर भुइँमा पछारेको उनको भनाइ छ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकायले ती अधिकारी निकोलस राइसमाथि अनुसन्धान भइरहेको जनाएको छ। साथै, डुरान्गोका प्रहरी प्रमुख ब्राइस करेन्टको अनुरोधमा कोलोराडो अनुसन्धान ब्युरोले पनि यस घटनाको छुट्टै अनुसन्धान सुरु गरेको छ।