नयाँ कानुनले लाखौं अमेरिकीलाई क्यानडाको नागरिक बन्ने बाटो खुला
- १० बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- क्यानडाको नयाँ कानुनले लाखौं अमेरिकीलाई सजिलै त्यहाँको नागरिकता पाउने बाटो खोलिदिएको छ। यससँगै धेरै अमेरिकीहरू आफ्नो पुर्खाको इतिहास खोज्दै दोहोरो नागरिकताका लागि आवेदन दिन थालेका छन्।
गत डिसेम्बर १५ देखि लागू भएको नयाँ कानुनअनुसार उक्त मितिभन्दा अघि जन्मेका र क्यानेडियन पुर्खा (हजुरबुवा, हजुरआमा वा त्योभन्दा अघिल्ला पुर्खा) भएका जो कोहीले पनि क्यानडाको नागरिकता दाबी गर्न पाउनेछन्। यो नियम लागू भएपछि अमेरिका र क्यानडाका अध्यागमन वकिलहरूकहाँ आवेदन दिनेको घुइँचो लागेको छ। एकजना वकिलका अनुसार पहिला वर्षमा २ सयवटा जति काम आउनेमा अहिले दिनमै २० भन्दा बढी मानिस सोधपुछ गर्न आउन थालेका छन्।
यसरी नागरिकता लिन चाहनेका छुट्टाछुट्टै कारण छन्। राजनीतिक अवस्था, रोजगारीको अवसर र पारिवारिक पृष्ठभूमि मुख्य कारण हुन्। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीति र अमेरिकाको राजनीतिक माहोल मन नपरेकाहरू भविष्यमा समस्या पर्दा काम लाग्ने भन्दै सुरक्षित विकल्पको खोजीमा क्यानडातिर आकर्षित भएका हुन्।
आफैँले सबै कागजात जुटाएर आवेदन दिँदा यसको शुल्क करिब ७५ क्यानेडियन डलर (५५ अमेरिकी डलर) मात्र लाग्छ। तर, वकिल वा विशेषज्ञको सहयोग लिँदा भने ६५ सय डलरसम्म खर्च हुन सक्छ। अहिले आवेदनको चाप धेरै भएकाले नागरिकताको प्रमाणपत्र पाउन करिब १० महिना कुर्नुपर्ने अवस्था छ।
क्यानडाका विज्ञहरूका अनुसार क्यानडाले सामान्यतया नयाँ मानिसलाई स्वागत नै गर्छ। तर कहिल्यै क्यानडा नआएका र आफ्नो स्वार्थका लागि मात्र नागरिक बन्न खोज्नेहरूप्रति भने त्यहाँका स्थानीय खुसी छैनन्। अमेरिकीहरूको चापले गर्दा ज्यान जोगाएर आएका वास्तविक शरणार्थीहरूको काम ढिलो हुन सक्ने चिन्ता पनि उनीहरूले व्यक्त गरेका छन्।