२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकी जलसेना प्रमुख फेलन अचानक पदमुक्त, हङ काओले कार्यवाहक सम्हाल्ने

अमेरिकी जलसेना प्रमुख फेलन अचानक पदमुक्त, हङ काओले कार्यवाहक सम्हाल्ने

न्युयोर्क- अमेरिकी जलसेनाका प्रमुख (नेभी सेक्रेटरी) जोन फेलन तत्कालै लागु हुने गरी पदबाट हटेका छन्। पेन्टागनका प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत उनी पदमुक्त भएको जानकारी दिए। फेलन बाहिरिनुको स्पष्ट कारण खुलाइएको छैन। अब जलसेनाका अन्डर सेक्रेटरी हङ काओले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।

फेलनले जलसेनामा नियुक्त हुनुअघि सेनामा कहिल्यै काम गरेका थिएनन्। उनी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानका प्रमुख चन्दादातामध्ये एक थिए। गएको वर्षको मार्चमा शपथ लिएका उनी हालैका महिनामा ट्रम्प प्रशासन छाड्ने वरिष्ठ सैन्य अधिकारीमध्ये एक हुन्।

अमेरिका र इजरेलले इरानमाथि गरेको युद्ध र होर्मुज जलमार्गमाथिको अवरोध चलिरहँदा जलसेनामा यो नेतृत्व परिवर्तन भएको हो। रक्षामन्त्री पीट हेगसेथले हालै सेनाका अन्य दर्जनौँ उच्च अधिकारीलाई पनि बर्खास्त गरेका छन्। फेलनको ठाउँ लिन लागेका काओसँग भने जलसेनामा २५ वर्ष काम गरेको अनुभव छ र उनी ट्रम्पका समर्थकमाझ परिचित अनुहार हुन्।

विज्ञहरूका अनुसार ट्रम्प पानीजहाजहरूको सङ्ख्या बढाउन चाहन्छन्। यसमा पर्याप्त प्रगति नभएकाले फेलनलाई हटाइएको र आफूले बढी विश्वास गर्ने व्यक्तिलाई नेतृत्वमा ल्याइएको हुन सक्ने अनुमान छ। अहिले इरानसँगको युद्धविरामका बीच अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी जारी राखेको छ भने मुख्य जलमार्ग होर्मुजमा तनाव कायमै छ।