२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इरान-अमेरिका तनाव कम गर्न पाकिस्तानको मध्यस्थता, इरानले ल्यायो नयाँ प्रस्ताव

इरान-अमेरिका तनाव कम गर्न पाकिस्तानको मध्यस्थता, इरानले ल्यायो नयाँ प्रस्ताव

न्युयोर्क – इरान र अमेरिकाबीचको तनाव कम गर्न पाकिस्तानले मध्यस्थता प्रयास तीव्र बनाएको छ। शनिबार इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका सेना प्रमुख असीम मुनीरसँग भेटेर युद्धविराम र समाधानका उपायबारे छलफल गरे।

भेटमा अराघचीले युद्ध अन्त्यबारे इरानको धारणा राखे भने पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निरन्तर निभाउने बतायो। अराघचीले नयाँ प्रस्ताव ल्याएको र त्यो प्रस्ताव पाकिस्तानमार्फत अमेरिकासम्म पुग्ने सम्भावना रहेको स्रोतले जनाएका छन्। तर, अमेरिकी प्रतिनिधि वार्ताका लागि प्रस्थान गरे वा गरेनन् भन्ने प्रस्ट भएको छैन।

इरानी अधिकारीले अमेरिकासँग भेट्नु यो भ्रमणको मुख्य उद्देश्य नभएको दाबी गरे पनि नयाँ प्रस्ताव अघि सार्ने संकेत दिएका छन्। तेहरानका केही कट्टरपन्थीले भने आणविक मुद्दालाई वार्तामा नराख्ने अडान लिएका छन्। यसअघिको वार्तामा यही विषय विवादको मुख्य कारण बनेको थियो।

यसैबीच, पाकिस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्री इशाक डारले इरान-अमेरिका वार्तामा सहजीकरण गर्दै शान्तिका लागि पाकिस्तान प्रतिबद्ध रहेको बताए। इस्लामावादमा सुरक्षा सतर्कता कडा पारिएको छ र वार्ता हुने आशा अझै बाँकी छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयले हल्लाको पछि नलाग्न र आधिकारिक जानकारी मात्र विश्वास गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।