आप्रवासीको लाइसेन्स विवाद: अमेरिकी सरकारविरुद्ध न्युयोर्कद्वारा मुद्दा दर्ता
- १२ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – आप्रवासीहरूको करिब ३३ हजार व्यावसायिक चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्न अस्वीकार गरेपछि अमेरिकी यातायात विभागले रोकेको बजेट खुलाउन न्युयोर्कले मुद्दा हालेको छ। विभागले न्युयोर्कलाई दिने ७ करोड ४० लाख डलर राजमार्ग बजेट रोकेपछि शुक्रबार न्युयोर्कले अदालतको ढोका ढक्ढकाएको हो।
यातायात मन्त्री सिन डफीले आप्रवासीले लाइसेन्स पाउने नियममा कडाइ गर्दै छानबिन गर्दा न्युयोर्कले भिसाको अवधिभन्दा बढी समयसम्म (आठ वर्ष) लाइसेन्स दिएको त्रुटि भेटिएको बताएका छन्। यसअघि क्यालिफोर्नियाले पनि यस्तै विवादमा आफ्नो २० करोड डलर बजेट रोकिएपछि सरकारविरुद्ध मुद्दा हालिसकेको छ।
न्युयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्स र गभर्नर क्याथी होचुलले भने आफूहरूले तत्कालीन नियम पूर्ण रूपमा पालना गरेको बताए। गभर्नर होचुलले यसलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै सडक सुरक्षामा प्रयोग हुने बजेट रोक्नु गैरकानुनी भएको बताइन्। महान्यायाधिवक्ता जेम्सले लाइसेन्स दिने बेला सबै आप्रवासीहरू कानुनी रूपमै अमेरिकामा रहेको दाबी गरिन्।
गत अगस्टमा फ्लोरिडामा लाइसेन्स नहुनुपर्ने एक ट्रक चालकले ट्राफिक नियम तोड्दा तीन जनाको ज्यान गएपछि यातायात विभागले यो कडाइ थालेको हो। सरकारले अंग्रेजी भाषा राम्रोसँग नजान्नेलाई लाइसेन्स नदिने र नियम नमान्ने ट्रक कम्पनीहरू बन्द गराउने अभियान नै चलाएको छ। यता, आप्रवासी अधिकारकर्मीहरूले भने आप्रवासी चालकहरूलाई अन्यायपूर्ण रूपमा तारो बनाइएको गुनासो गरेका छन्। नयाँ नियमअनुसार अब निश्चित अस्थायी र लगानीकर्ता भिसा भएकाले मात्र यस्तो व्यावसायिक लाइसेन्स पाउनेछन्।