पोर्चुगलमा पहिलो नेपाली अग्निनियन्त्रक बने धरमराज
- १४ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका धरमराज भण्डारी त्यहाँको पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक बन्न सफल भएका छन्। तिलोत्तमा नगरपालिका–१ का ४२ वर्षीय भण्डारीले डेढ वर्ष लामो कठिन तालिम पूरा गरेपछि यो सफलता पाएका हुन्।
उनी सेतुबाल जिल्लाको मोइता नगरपालिकामा रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ नामक संस्थामा आबद्ध भएका छन्। केही समयअघि आयोजित विशेष समारोहमा उनले संस्थाको झण्डा अगाडि उभिएर सेवा र कर्तव्यको शपथ लिएका थिए।
यो सेवाका लागि कुनै पारिश्रमिक पाइँदैन। भण्डारीले पोर्चुगलले आफूलाई धेरै दिएकाले यहाँको समाजका लागि केही योगदान गर्ने उद्देश्यले यो क्षेत्र रोजेको बताए। उनले भने, “विदेशी भूमिमा मानवीय सेवामा जोडिन पाउनु गर्वको कुरा हो, यसले मलाई छुट्टै आत्मसन्तुष्टि दिन्छ।”
भण्डारीका लागि यो उपलब्धि सहज भने थिएन। सुरुमा धेरै ठाउँमा आवेदन दिँदा उनलाई अस्वीकार गरिएको थियो। विदेशी नागरिकलाई अग्निनियन्त्रक बनाउनु हुँदैन भनेर उजुरी समेत परेको उनले सुनाए। तर प्रशासनले उनको क्षमता र इच्छाशक्ति देखेर छनोट गरेको हो। तालिममा सहभागी २२ जनामध्ये उनीसहित ६ जना मात्र छानिएका थिए, जसमा भण्डारी एक्ला एसियाली हुन्।
उनको शपथ ग्रहणमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल पनि सहभागी थिए। राजदूत पौडेलले भण्डारीको यो कार्यले पोर्चुगलमा नेपालीको सम्मान र छवि अझ राम्रो बनाएको भन्दै प्रशंसा गरे। पाँच वर्षअघि पोर्चुगल पुगेका भण्डारी हाल परिवारसहित त्यहीँ बस्छन्।