अमेरिका-बेलायत सम्बन्ध सुधार्न राजा चार्ल्स वासिङ्टनमा
- १५ बैशाख २०८३
- १ मिनेटको पढाई
वासिङटन- बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिला अमेरिकाको भ्रमणमा छन्। उनीहरू दुई देशबीचको सम्बन्ध बलियो बनाउने प्रयासस्वरूप वासिङ्टन पुगेका हुन्। भ्रमणका क्रममा राजा चार्ल्सले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै छन्। सन् १९९१ मा रानी एलिजाबेथ द्वितीयपछि कंग्रेसलाई सम्बोधन गर्ने उनी पहिलो बेलायती राजा हुन्।
यसअघि राजा चार्ल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटघाट गरे। ट्रम्पले चार्ल्सलाई आफ्नो साथी बताउँदै आएका छन् र मंगलबार बेलुका उनीहरूको सम्मानमा विशेष रात्रीभोज आयोजना गरेका छन्। तर, पछिल्लो समय अमेरिका र बेलायतको राजनीतिक सम्बन्ध भने त्यति राम्रो छैन। इरान युद्ध र विभिन्न करका विषयमा राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री कियर स्टार्मरबीच विवाद बढेको बेला यो भ्रमण भएको हो।
अमेरिकाले बेलायतबाट स्वतन्त्रता पाएको २५०औँ वार्षिकोत्सव मनाउने क्रममा यो चार दिने भ्रमण तय भएको हो। यसैबीच, चार्ल्सलाई उनका भाइ एन्ड्रयु जोडिएको जेफ्री एपस्टिनको काण्डका पीडितहरूलाई भेट्न केही अमेरिकी सांसदले दबाब दिएका छन्। तर, उनले ती पीडितलाई भेट्ने वा नभेट्ने भन्ने बारे केही खुलाइएको छैन।