टेक्ससमा भीषण हुरीबतास: घर भत्किदा, २ जना घाइते
- १६ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको टेक्ससमा मंगलबार आएको कडा हुरीबतासले घरहरूमा क्षति पुर्याउँदा कम्तीमा दुई जना घाइते भएका छन्। हावाहुरीले घरको छाना उडाउनुका साथै कयौं भवनहरू भत्काएको छ।
फोर्ट वर्थबाट करिब ४५ माइल पश्चिममा रहेको मिनरल वेल्स सहरमा धेरै घर र व्यवसायमा नोक्सान पुगेको छ। त्यहाँका अग्नि नियन्त्रक प्रमुख रायन डन्नले दुई जनालाई अस्पताल लगिएको र अन्य केही सामान्य घाइतेको घटनास्थलमै उपचार गरिएको बताए। अहिलेसम्म कसैको मृत्यु भएको वा बेपत्ता भएको खबर छैन। हावाहुरीले बाटोमा धेरै खतरा बढाएको भन्दै उनले मानिसहरूलाई औद्योगिक क्षेत्रबाट टाढा रहन भने।
सहरभरि ढलेका रूख र भत्किएका सामानहरू छरिएपछि त्यहाँका मेयरले संकटकाल घोषणा गरेका छन्। प्रहरी प्रमुख टिम डेनिसनले मानिसहरूको सुरक्षा र उनीहरूका सामान जोगाउन राति १० बजेदेखि बिहानसम्म कर्फ्यू लगाइएको बताए। घर छोड्न बाध्य भएकाहरूका लागि स्थानीय स्कुलमा रेडक्रसले सहयोग गरिरहेको छ। केही दिन अघि मात्रै उत्तरी टेक्ससमा आएको आँधीले दुई जनाको ज्यान लिएको थियो।