२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

ट्रम्पको आप्रवासी नीतिलाई अदालतको झड्का: धरौटी बिना जेल हाल्न नपाइने

ट्रम्पको आप्रवासी नीतिलाई अदालतको झड्का: धरौटी बिना जेल हाल्न नपाइने

न्युयोर्क- अमेरिकाको एउटा संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको धरौटी बिना नै आप्रवासीलाई जेल हाल्ने नीतिमा रोक लगाएको छ। अदालतले यो नीतिले गम्भीर संवैधानिक प्रश्न खडा गरेको बताएको छ।

न्युयोर्कको सेकेन्ड सर्किट कोर्टले मंगलबार यस्तो फैसला गरेको हो। यसअघि अरु दुई अदालतले ट्रम्पको नीतिको पक्षमा फैसला गरेका थिए। अदालतहरूबीच नै फरक फैसला आएपछि अब यो विवाद सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ।

ट्रम्प सरकारले गत जुलाईदेखि कुनै अपराध नगरेका र वर्षौंदेखि अमेरिकामा बसिरहेका आप्रवासीलाई पनि पक्राउ गरेर धरौटीमा छुट्न नदिने कडा नियम ल्याएको थियो। तर, न्यायाधीश जोसेफ एफ बियान्कोले सरकारको यो कदम कानुन र संविधानको मर्म विपरीत भएको बताए।

यो मुद्दा सन् २००५ मा अमेरिका आएका एक ब्राजिलियन नागरिकको हो। कुनै आपराधिक रेकर्ड नभएका र परिवारसँगै अमेरिकामा बस्दै आएका उनलाई गत सेप्टेम्बरमा पक्राउ गरेर जेलमा राखिएको थियो। उता, होमल्यान्ड सेक्युरिटी विभागले भने अमेरिकालाई सुरक्षित राख्न यस्तो नियम ल्याइएको र माथिल्लो अदालतबाट आफूहरूको जित हुने दाबी गरेको छ।