२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

पश्चिम एसिया तनावले बदलियो व्यापारिक बाटो: अफ्रिका बन्यो ढुवानीको नयाँ केन्द्र

पश्चिम एसिया तनावले बदलियो व्यापारिक बाटो: अफ्रिका बन्यो ढुवानीको नयाँ केन्द्र

न्युयोर्क- पश्चिम एसिया र लालसागरमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय व्यापारिक जहाजले आफ्नो बाटो फेरेका छन्। सुरक्षा खतरा बढेपछि जहाजहरूले नयाँ बाटो रोज्दा अफ्रिका सामान ढुवानीको नयाँ केन्द्र बनेको छ।

पहिले एसियाबाट युरोप पुग्न स्वेज नहर हुँदै करिब २१ दिन लाग्थ्यो। तर सन् २०२३ को नोभेम्बरमा यमनका हुथी विद्रोहीले जहाजमा आक्रमण गरेपछि अहिले यो बाटो असुरक्षित भएको छ। त्यसैले जहाजहरू अहिले दक्षिण अफ्रिकाको ‘केप अफ गुड होप’ घुमेर जान थालेका छन्। यो लामो बाटो प्रयोग गर्दा युरोप पुग्न ५५ दिन लाग्न थालेको छ। यसले गर्दा इन्धनको खपत ३० देखि ५० प्रतिशतसम्म बढेको छ भने मालसामान ढुवानी खर्च पनि महँगिएको छ।

बाटो फेरिँदा इजिप्टलाई ठुलो घाटा भएको छ। स्वेज नहरबाट हुने आम्दानीमा ६० प्रतिशतभन्दा बढी गिरावट आउँदा सन् २०२४ मा इजिप्टले ७ अर्ब डलर गुमाएको छ। अर्कोतर्फ, अफ्रिकी बन्दरगाहको व्यापार भने बढेको छ। मोरक्कोको बन्दरगाहमा व्यापार बढेको छ भने साउदी अरबको जेद्दा बन्दरगाह पनि सामान ओसारपसारको नयाँ केन्द्रको रूपमा अगाडि आएको छ।

तथ्यांक अनुसार, अहिले लालसागर हुँदै जाने ७० प्रतिशत सामान अफ्रिका घुमेर गइरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अफ्रिकाको बाटो प्रयोग गर्ने जहाजको संख्या तीन गुणाले बढेको छ। पहिले लालसागरमा दैनिक १८ वटा व्यापारिक जहाज हिँड्ने गरेकोमा अहिले त्यो संख्या घटेर जम्मा ५ वटामा झरेको छ।