इरान युद्धबारे ट्रम्प र मर्सबिच विवाद: अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता बोलाउँदै
- १९ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले जर्मनीबाट आफ्ना ५ हजार सैनिक फिर्ता बोलाउने भएको छ। इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्सबिच विवाद बढेपछि यो निर्णय आएको हो।
केही दिनअघि चान्सलर मर्सले इरानी वार्ताकारहरूले अमेरिकालाई ‘अपमानित’ गरेको र अमेरिकासँग कुनै स्पष्ट रणनीति नभएको बताएका थिए। यसको जवाफमा ट्रम्पले सामाजिक सञ्जालमा मर्सले खराब काम गरिरहेको र जर्मनीको अवस्था खस्किएको भन्दै आलोचना गरे। ट्रम्पले मर्सलाई इरानले आणविक हतियार राखेको ठीक लाग्ने गरेको भन्दै टिप्पणी पनि गरे।
जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले अमेरिकी सैनिक युरोपमा रहनु दुवै देशको हितमा भए पनि सेना फिर्ता गर्ने अमेरिकी निर्णयको पहिले नै अनुमान गरिएको बताए। अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सन पार्नेलका अनुसार आगामी ६ देखि १२ महिनाभित्र सैनिक फिर्ता गर्ने काम पूरा हुनेछ। हाल जर्मनीमा ३६ हजारभन्दा बढी सक्रिय अमेरिकी सैनिक छन्।
इरान युद्धमा सहयोग नगरेको भन्दै ट्रम्पले इटाली र स्पेनबाट पनि आफ्ना सैनिक फिर्ता बोलाउन सक्ने संकेत दिएका छन्। ट्रम्पले इटालीले कुनै सहयोग नगरेको र स्पेनको व्यवहार एकदमै खराब रहेको बताए। यसअघि अमेरिकाले रोमानियाबाट पनि आफ्नो सेना घटाएको थियो।