२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इरान युद्ध: युद्धविराम भएको भन्दै संसदको अनुमति नचाहिने ट्रम्पको दाबी

इरान युद्ध: युद्धविराम भएको भन्दै संसदको अनुमति नचाहिने ट्रम्पको दाबी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले युद्धविराम भइरहेकाले युद्ध अघि बढाउन संसदको अनुमति लिन नपर्ने बताए। अमेरिकी कानुनअनुसार सैन्य कारबाही सुरु गरेको ६० दिनभित्र राष्ट्रपतिले संसदबाट अनिवार्य अनुमति लिनुपर्छ, नत्र आक्रमण रोक्नुपर्ने हुन्छ। तर ट्रम्पले युद्धविरामका कारण यो ६० दिने नियम अहिले लागु नहुने दाबी गरे।

संसदका नेताहरूलाई पठाएको पत्रमा ट्रम्पले अप्रिल ७ यता अमेरिका र इरानबिच गोली हानाहान नभएको र युद्ध रोकिएको उल्लेख गरे। यसैबिच इरानले पाकिस्तानमार्फत अमेरिकासँग वार्ताको नयाँ प्रस्ताव पठाएको छ। तर, ट्रम्पले इरानले राखेको सम्झौताको सर्त आफूलाई मन नपरेको बताए।

अहिले पनि हर्मुज जलसन्धि बन्द अवस्थामा छ, जसले गर्दा विश्वभरको अर्थतन्त्रमा असर परिरहेको छ। अमेरिकाले उक्त बाटो प्रयोग गरेबापत इरानलाई कुनै पनि प्रकारको शुल्क नबुझाउन चेतावनी दियो।

अर्कोतर्फ, कानुनविद् र विपक्षी दलका नेताहरूले ट्रम्पको दाबीको विरोध गरे। उनीहरूका अनुसार अस्थायी युद्धविराम हुँदैमा संसदको अनुमति लिनुपर्ने ६० दिने नियम रोकिँदैन।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरी त्यहाँका सर्वोच्च नेताको हत्या गरेपछि यो द्वन्द्व चर्किएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाडीमा रहेका अमेरिकी सहयोगी देशहरूमाथि आक्रमण गरेको थियो।