ट्रम्प प्रशासनको अध्यागमन नीति: आक्रामक धरपकड छाडेर ‘शान्त’ रूपमा देश निकाला गरिँदै
- १९ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई देश निकाला गर्ने आफ्नो आक्रामक रणनीति बदलेको छ। पहिले सडकमा हुने ठुला धरपकड र विवादित कदमको सट्टा अहिले प्रशासनले शान्त शैली अपनाएको छ।
आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मुल्लिनले आफ्नो विभागलाई समाचारको मुख्य विषय बन्नबाट रोक्न चाहेको बताए। “हामी अझै पनि कानुन लागु गरिरहेका छौं र यहाँ बस्न नपाउने अवैध आप्रवासीलाई निकालिरहेका छौं, तर अलि शान्त तरिकाले,” उनले भने। पहिलेका अधिकारीहरू धरपकडमा प्रत्यक्ष संलग्न हुँदा विवाद बढेपछि प्रशासनले यो नयाँ बाटो रोजेको हो।
पछिल्लो समय आप्रवासी पक्राउ पर्ने क्रम केही घटेको छ। थुनामा पर्नेको संख्या ७२ हजारबाट घटेर ५८ हजारमा झरेको छ। तर, सरकारको लक्ष्य भने घटेको छैन। सरकारले यसै वर्ष १० लाख मानिसलाई देश निकाला गर्ने लक्ष्य राखेको छ। यसका लागि सरकारले एक खर्ब ७० अर्ब डलर बजेट पाएको छ भने आप्रवासीलाई थुन्न नयाँ भवनहरू पनि किनिएका छन्।
अब सरकारले सडकमा पक्रनुको सट्टा आप्रवासीलाई दिइने कानुनी सुरक्षा हटाउन ध्यान दिएको छ। अमेरिकामा स्थायी बसोबास अनुमति पाउनेको संख्या पछिल्लो एक वर्षमा आधाले घटेको छ। शरणार्थी वा अस्थायी सुरक्षा पाएकाहरूको सुविधा खोस्ने प्रयास पनि भइरहेको छ। यसका साथै, स्थानीय प्रहरीसँग मिलेर आप्रवासीको निगरानी बढाउन देशैभर १४ सयभन्दा बढी सम्झौता गरिएका छन्।
यता, आप्रवासनका कडा आलोचकहरूले भने अझै धेरैलाई देश निकाला गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन्। उनीहरूले अवैध आप्रवासीलाई काम गर्न र बस्न यति गाह्रो बनाउनुपर्ने माग गरेका छन् कि उनीहरू आफैं देश छाडेर जाउन्। यसका लागि सरकारी सुविधामा रोक लगाउने र रोजगारीका नियम कडा पार्ने काम भइरहेको छ।