एटलान्टिक महासागरमा क्रुज जहाजभित्र भाइरस संक्रमण, ३ जनाको मृत्यु
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- एटलान्टिक महासागरमा रहेको एउटा क्रुज जहाजमा ‘हान्ताभाइरस’ को संक्रमण फैलिँदा ३ जना यात्रुको मृत्यु भएको छ। अन्य ३ जना बिरामी परेका छन्। विश्व स्वास्थ्य संगठनले बिरामी ६ जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको र ५ जनामा संक्रमणको आशंका रहेको बतायो।
मृत्यु हुनेमध्ये दुई जना नेदरल्यान्ड्सका दम्पती छन्। दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेले ७० वर्षीय पुरुषको सेन्ट हेलेना पुग्ने बित्तिकै र ६९ वर्षीया महिलाको जोहानेसबर्ग विमानस्थलमा मृत्यु भएको बताए। तेस्रो व्यक्तिको विवरण भने खुलेको छैन।
संक्रमण पुष्टि भएका बेलायतका एक यात्रुको दक्षिण अफ्रिकामा सघन उपचार कक्षमा उपचार भइरहेको छ। ‘होन्डियस’ नामको उक्त जहाज अहिले अफ्रिकी देश केप भर्डेको तटमा रोकिएको छ। जहाजमा लक्षण देखिएका दुई जना चालक दलका सदस्यहरू छन्। उनीहरूलाई त्यहाँका अधिकारीहरूले जहाजबाट बाहिर निस्कन दिएका छैनन्।
अर्जेन्टिनाबाट करिब तीन हप्ताअघि १५० जना यात्रु बोकेर हिँडेको यो जहाज अन्टार्कटिका लगायतका विभिन्न टापुहरू हुँदै त्यहाँ पुगेको हो। स्वास्थ्य अधिकारीहरूले अहिले बिरामीहरूको उद्धार र भाइरसको अनुसन्धान गरिरहेका छन्।