२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्कका पूर्वमेयर रुडी जिउलियानी गम्भीर अवस्थामा अस्पताल भर्ना

न्युयोर्कका पूर्वमेयर रुडी जिउलियानी गम्भीर अवस्थामा अस्पताल भर्ना

न्युयोर्क- न्युयोर्क सहरका पूर्वमेयर रुडी जिउलियानी गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन्। ८१ वर्षीय जिउलियानी अस्पताल भर्ना भएको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जिउलियानीका प्रवक्ता टेड गुडम्यानले आइतबार जानकारी दिएका हुन्।

प्रवक्ता गुडम्यानले उनी कुन स्वास्थ्य समस्याका कारण अस्पताल पुगेका हुन् भन्ने खुलाएका छैनन्। उनले जिउलियानी एक योद्धा भएको र अहिले पनि त्यही साहसका साथ लडिरहेको बताए। साथै, उनले अमेरिकाको मेयर भनेर चिनिने जिउलियानीको स्वास्थ्य लाभका लागि प्रार्थना गर्न सबैसँग आग्रह गरे।

त्यसैगरी, ट्रम्पले सामाजिक सञ्जालमार्फत जिउलियानीलाई एक ‘सच्चा योद्धा’ र न्युयोर्कको इतिहासकै उत्कृष्ट मेयर भनेर प्रशंसा गरे।

जिउलियानी सन् १९९४ देखि २००१ सम्म न्युयोर्कको मेयर थिए। सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको समयमा उनले निर्वाह गरेको भूमिकाको निकै प्रशंसा भएको थियो। तर, सन् २०२० को चुनाव र डोनाल्ड ट्रम्पबारे झुटो कुरा फैलाएको आरोपमा सन् २०२४ मा उनको वकालत गर्ने अनुमति खारेज गरिएको थियो। गत वर्ष न्यु ह्याम्पसायरमा भएको एक कार दुर्घटनामा उनी घाइते पनि भएका थिए।