२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

बेलिभिलमा भीषण आगलागीः संकटकाल घोषणा, विद्यालय बन्द

बेलिभिलमा भीषण आगलागीः संकटकाल घोषणा, विद्यालय बन्द

न्युयोर्क- अमेरिकाको न्युजर्सीस्थित बेलिभिल सहरमा भीषण आगलागी भएपछि संकटकाल घोषणा गरिएको छ। आइतबार साँझ भ्याली क्षेत्रमा रहेको एउटा म्याट्रेस (डसना) गोदामबाट सुरु भएको आगो तीव्र रूपमा फैलिएको थियो।

मेयर माइकल मेलहमका अनुसार हावाहुरीका कारण आगो अन्य गोदामहरूमा पनि सल्किएको थियो। उडेको आगोको झिल्कोले केही ब्लक पर रहेका घरहरूमा समेत आगलागी गराएको छ। आगो नियन्त्रणमा लिन विभिन्न काउन्टीका टोलीहरू खटिएका छन्।

यही ठूलो आगलागीका कारण सोमबार (मे ४) बेलिभिलका सबै सार्वजनिक विद्यालयहरू बन्द गरिएका छन्। वासिङ्टन एभिन्युको केही भाग अनिश्चितकालका लागि बन्द गरिएको छ। टाउन हल र प्रहरी कार्यालयमा बिजुली नभएका कारण ९११ का आपत्कालीन कलहरू ‘नटली’ सहरबाट उठाइएको छ।

अहिलेसम्म कोही घाइते भएको खबर आएको छैन। बाक्लो र अस्वस्थकर धुवाँ फैलिएकाले अधिकारीहरूले सबैलाई सावधानी अपनाउन र घटनास्थल वरपर नजान आग्रह गरेका छन्।