युनाइटेडको विमान अवतरणका क्रममा ट्रक र बिजुलीको पोलसँग ठोक्कियो
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इटालीको भेनिसबाट आएको युनाइटेड एयरलाइन्सको उडान नम्बर १६९ अमेरिकाको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। विमान न्युजर्सी टर्नपाइकमा रहेको एउटा बिजुलीको पोल र गुडिरहेको एउटा ठूलो ट्रकसँग ठोक्किएको हो।
दिउँसो करिब २ बजेतिर यो घटना भएको हो। विमान ठोक्किएपछि ढलेको पोलले सडकमा गुडिरहेको अर्को एउटा जिपलाई पनि लागेको थियो। प्रहरीका अनुसार ट्रकका चालकलाई सामान्य चोट लागेको छ र अस्पतालमा उपचारपछि उनलाई घर पठाइएको छ।
बोइङ ७६७ विमान भने सुरक्षित रूपमा अवतरण भएको छ। विमानमा २३१ जना यात्रु थिए, तर यात्रु र चालक दलका कोही पनि घाइते भएनन्। विमानमा सामान्य क्षति पुगेको छ।
युनाइटेड एयरलाइन्सले घटनाको गम्भीर रूपमा अनुसन्धान गर्ने बताएको छ। अनुसन्धानका लागि तत्काल विमानका चालक दलका सदस्यहरूलाई कामबाट हटाइएको छ। विमानस्थलको धावनमार्ग सफा गरेर अहिले उडानहरू सामान्य रूपमा सञ्चालन भइसकेका छन्।