२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्कको अपार्टमेन्टमा भीषण आगलागी : ३ जनाको मृत्यु, दर्जनौँ घरबारविहीन

न्युयोर्कको अपार्टमेन्टमा भीषण आगलागी : ३ जनाको मृत्यु, दर्जनौँ घरबारविहीन

न्युयोर्क- न्युयोर्कको म्यानहटनमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ। राति भएको यस घटनामा धेरै जना गम्भीर घाइते भएका छन् भने दर्जनौँ परिवार घरबारविहीन बनेका छन्।

अधिकारीहरूका अनुसार मध्यरातमा आगलागीको खबर पाएपछि अग्नि नियन्त्रकहरू घटनास्थल पुगेका थिए। इनवुड क्षेत्रको भर्मिलिया एभिन्यु र ब्रोडवेको बीचमा पर्ने डाइकम्यान स्ट्रिटमा रहेको ६ तले भवनको दोस्रो तलामा आगो लागेको थियो।

आगो निभाउन र उद्धार गर्न २०० भन्दा बढी अग्नि नियन्त्रक र आपत्कालीन स्वास्थ्यकर्मी खटिएका थिए। घटनास्थलमै ३ जना मृत फेला परेको अधिकारीहरूले बताए।

न्युयोर्कको दमकल विभाग (एफडिएनवाई) का अनुसार गम्भीर अवस्थामा रहेका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। सामान्य र मध्यम चोट लागेका अन्य ४ जनालाई पनि अस्पताल भर्ना गरिएको छ। आगो निभाउने क्रममा एक जना अग्नि नियन्त्रकलाई पनि सामान्य चोट लागेको छ।

अहिलेसम्म घटनामा पर्नेहरूको पहिचान खुल्न सकेको छैन। आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।