५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

कम्बोडियामा अनलाइन ठगी गर्नेलाई कडा सजाय, ५ लाख डलरसम्म जरिवाना

कम्बोडियामा अनलाइन ठगी गर्नेलाई कडा सजाय, ५ लाख डलरसम्म जरिवाना

न्युयोर्क- कम्बोडिया सरकारले इन्टरनेटमार्फत हुने ठगी रोक्न कडा कानुन लागू गरेको छ। नयाँ नियमअनुसार यस्तो काममा लाग्नेलाई अपराध हेरी ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदको सजाय हुन सक्छ।

थाइल्यान्डमा रहेको नेपाली दूतावासका अनुसार, कम्बोडियाले गत हप्तादेखि यो कानुन कार्यान्वयनमा ल्याएको हो। अहिले त्यहाँ ठगी गर्ने अखडाहरू बन्द गराउने र त्यसमा संलग्न हुनेलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको छ।

पर्यटक बनेर कम्बोडिया गएका धेरै नेपालीहरू म्याद सकिएपछि पनि त्यहीँ बसिरहेको र केही नेपाली यस्तो ठगीमा संलग्न भएको दूतावासले जनाएको छ। दूतावासले त्यस्ता गैरकानुनी काम तत्काल छोडेर नेपाल फर्कन आग्रह गरेको छ।

राम्रो तलब र सुविधाको लोभमा पर्यटक भिसामा काम गर्न नजान दूतावासले सबैलाई अनुरोध गरेको छ। विदेश जानुअघि आधिकारिक निकायबाट श्रम स्वीकृति लिन पनि भनिएको छ। नेपाल फर्कन चाहने नेपालीको तथ्यांक संकलन भइरहेको भन्दै दूतावासले आफूलाई त्यहाँ पुर्‍याउने दलालविरुद्ध उजुरी दिन पनि भनेको छ।