मेयरको भिडियोबाट अर्बपति केन ग्रिफिन आक्रोशित, न्युयोर्कबाट व्यापार हटाउने धम्की
- २४ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कका मेयर जोहरान मामदानीले धनीहरूलाई कर लगाउने विषयमा बनाएको एउटा भिडियोका कारण अर्बपति केन ग्रिफिनले आफ्नो व्यापार न्युयोर्कबाट हटाउने संकेत दिएका छन्। ग्रिफिनले न्युयोर्कको ३५० पार्क एभेन्यूमा बनाउन लागेको विशाल टावर र त्यसबाट सिर्जना हुने हजारौँ रोजगारीको योजना अब अन्योलमा परेको बताए।
मेयर मामदानीले केही समयअघि ग्रिफिनको २३ करोड ८० लाख डलर पर्ने पेन्टहाउस बाहिर उभिएर एउटा भिडियो खिचेका थिए। उनले सहरको ५ अर्ब डलरको बजेट घाटा पूर्ति गर्न र आवास संकट समाधान गर्न धनीहरूका दोस्रो घरमा विशेष कर लगाउनु पर्ने माग गरे। भिडियोमा उनले ग्रिफिनको नामै तोकेर आलोचना गरेपछि यो विवाद सुरु भएको हो।
यसको जवाफ दिँदै ग्रिफिनले बेभर्ली हिल्सको एक सम्मेलनमा अब आफूले मायामीमा लगानी बढाउनु पर्ने बताए। उनले मेयरको यस्तो व्यवहारले न्युयोर्कमा लगानी गर्ने वातावरणमा असर परेको संकेत गरे।
यस विषयमा न्युयोर्क सिटी काउन्सिलकी सभामुख जुली मेिनले मेयरको कदमको आलोचना गरिन्। उनले व्यक्तिगत रूपमा कसैलाई प्रहार गर्नु ठिक नभएको र यसले व्यापारहरू सहरबाट बाहिरिने डर हुने बताइन्। मेयर मामदानीले भने ग्रिफिन ठुलो रोजगारदाता भएको स्विकार्दै कर प्रणालीमा सुधार आवश्यक रहेको आफ्नो अडान दोहोर्याए। उनले अहिलेसम्म यसबारे ग्रिफिनसँग व्यक्तिगत रूपमा भने कुरा गरेका छैनन्।