आप्रवासन अधिकारीले न्युयोर्कमा निर्दोष किशोरलाई कुटेर बाटोमै छाडे
- २६ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित ब्रोंक्समा आप्रवासन अधिकारीहरूले १९ वर्षीय एक निर्दोष किशोरलाई पक्राउ गर्ने क्रममा कुटपिट गरेका छन्। जेउरी कन्सेप्सियन नामका ती किशोरको टाउकोमा गम्भीर चोट लागेर टाँका लगाउनुपरेको छ। पछि अधिकारीहरूले गलत व्यक्ति पक्राउ परेको थाहा पाएपछि उनलाई रक्ताम्मे अवस्थामै एउटा पार्कमा लगेर छाडे।
बुधबार दिउँसो भएको यो घटनाको भिडियोमा बन्दुक बोकेका अधिकारीहरूले ती किशोरलाई भुइँमा लडाएर हतकडी लगाएको देखिन्छ। गाडीमा राखेर लैजाँदै गर्दा परिचयपत्र हेरेपछि मात्र उनीहरूले आफ्नो गल्ती थाहा पाए। जेउरीले भने, “उनीहरूले मसँग माफी मागे र अब यस्तो गल्ती हुँदैन भने। तर मैले उनीहरूविरुद्ध उजुरी दिन्छु भनेर बताएँ।”
अधिकारीहरूले उनलाई नचिनेको ठाउँमा लगेर छाडेपछि आमाले उनलाई अस्पताल पुर्याइन्। कुटपिटका कारण उनको मस्तिष्कमा समेत असर (कन्कसन) परेको छ। पीडित परिवारले यस घटनाको विरुद्ध उजुरी दिने तयारी गरेको छ। यस विषयमा अमेरिकाको आन्तरिक सुरक्षा विभागले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।