२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्क र ट्रम्प प्रशासनबीच तनाव: आप्रवासन एजेन्टलाई रोक लगाउने तयारी

न्युयोर्क र ट्रम्प प्रशासनबीच तनाव: आप्रवासन एजेन्टलाई रोक लगाउने तयारी

न्युयोर्क- न्युयोर्कले संघीय आप्रवासन अधिकारीको काममा रोक लगाउने गरी नयाँ कानुन ल्याउने तयारी गरेको छ। ट्रम्प प्रशासनका सीमा अधिकारीले न्युयोर्कमा एजेन्टहरूको संख्या ह्वात्तै बढाउने चेतावनी दिए पनि गभर्नर क्याथी होचुलले त्यसलाई बेवास्ता गरेकी छन्।

गभर्नर होचुलले आफू कसैको धम्कीसँग नडराउने र न्युयोर्कबासीको सुरक्षाका लागि यो कानुन आवश्यक रहेको बताइन्। नयाँ प्रस्ताव अनुसार अब स्थानीय प्रहरीले ‘आइस’ सँग मिलेर काम गर्न पाउने छैनन्। त्यस्तै, विद्यालय र अस्पताल जस्ता संवेदनशील ठाउँमा जानका लागि अधिकारीहरूसँग अदालतको वारेन्ट अनिवार्य रूपमा हुनुपर्नेछ।

यसका साथै, ड्युटीमा रहेका अधिकारीहरूलाई मास्क लगाउन प्रतिबन्ध लगाउने र पीडितले ‘आइस’ अधिकारीहरू विरुद्ध मुद्दा हाल्न पाउने व्यवस्था पनि गर्न लागिएको छ।

सीमा अधिकारी टम होमानले भने न्युयोर्कले काममा अवरोध गरे आफूहरूले एजेन्टहरूको संख्या बढाउने र जसरी भए पनि काम गर्ने बताएका छन्। यता होचुलले गम्भीर अपराधीहरूलाई समात्न राज्यले सधैं सहयोग गर्ने तर आप्रवासीहरूलाई अनावश्यक दुख दिन नहुने बताइन्। रिपब्लिकन उम्मेदवार ब्रुस ब्लेकम्यानले भने यो नयाँ नियमको विरोध गर्दै यसले समाजबाट खराब मानिसहरूलाई हटाउन गाह्रो हुने तर्क गरेका छन्।