२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

रुसको विजय दिवस: युक्रेनसँगको युद्ध न्यायपूर्ण रहेको पुटिनको दाबी

रुसको विजय दिवस: युक्रेनसँगको युद्ध न्यायपूर्ण रहेको पुटिनको दाबी

न्युयोर्क- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धलाई ‘न्यायसंगत’ र ‘औचित्यपूर्ण’ भनेका छन्। मस्कोको रेड स्क्वायरमा आयोजित वार्षिक विजय दिवस (भिक्ट्री डे) परेडलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नाजी जर्मनीमाथि सोभियत संघले हात पारेको जितको सम्झनामा रुसले हरेक वर्ष यो दिवस भव्य रूपमा मनाउने गर्छ।

आफ्नो सम्बोधनका क्रममा उनले युरोपेली देश र नेटोको कडा आलोचना गरे। उनले पश्चिमा देशहरूले युक्रेनलाई हतियार दिएर उकासेको र युक्रेन आफैँ एक आक्रामक शक्ति बनेको दाबी गरे। उनले दोस्रो विश्वयुद्धमा सोभियत सैनिकले दिएको बलिदानको चर्चा गर्दै आफ्नो भाषण सुरु गरेका थिए।

यसपटकको परेड विगतका वर्षहरूको तुलनामा केही फरक र शान्त देखिएको थियो। दुई दशकयता पहिलोपटक मस्कोको परेडमा कुनै पनि ठूला सैन्य हतियार वा ट्याङ्कहरू प्रदर्शन गरिएन। केवल सैनिकहरूको मार्चपास मात्रै देख्न पाइयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको सहमति भएको घोषणा गरेपछि यो समारोह भएको हो। समारोहमा सैनिकहरूको मार्चपासका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।