प्रधानमन्त्री कार्यालयले ल्यायो ‘सुझाव संकलन पोर्टल’, बजेटमा नागरिकले सुझाव दिन सक्ने
- २६ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- आगामी आर्थिक वर्षको बजेट, नीति र कार्यक्रमलाई पारदर्शी बनाउन सरकारले नयाँ अनलाइन प्रणाली सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नागरिकका आवश्यकता र अपेक्षा सिधै सुन्न ‘सुझाव संकलन सार्वजनिक पोर्टल’ सञ्चालनमा ल्याएको हो।
अब आम नागरिक र विज्ञहरूले बजेट तथा विकास आयोजनाबारे आफ्ना सल्लाह सिधै सरकारलाई दिन सक्नेछन्। प्राप्त भएका राम्रा र काम लाग्ने सुझावलाई आगामी बजेटमा समेट्ने सरकारको तयारी छ।
यसका साथै, आफूले दिएको सुझाव कुन अवस्थामा छ भनेर हेर्न मिल्ने ‘सुझाव ट्रयाक’ सुविधा पनि यसमा राखिएको छ। यसले गर्दा नागरिकलाई आफ्नो रायको कदर भए नभएको थाहा पाउन सजिलो हुनेछ। प्रधानमन्त्री कार्यालयले यस प्रणालीमा सहभागी भएर आफ्ना सल्लाह दिन सबैलाई आग्रह गरेको छ।