२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

चीनको कार कारखानामा सयवटा रोबोट काममा खटिए, ५० सेकेन्डमै बन्छ एउटा कार

चीनको कार कारखानामा सयवटा रोबोट काममा खटिए, ५० सेकेन्डमै बन्छ एउटा कार

चीन- पूर्वी चीनको इवुमा रहेको गिली अटोको कारखानामा करिब एक सयवटा आफ्नै देशमा बनेका वेल्डिङ रोबोटहरू काममा खटिएका छन्। सिएसुन कम्पनीले बनाएका ९८ वटा रोबोटलाई कार जोडजाड गर्ने ठाउँमा सफलतापूर्वक प्रयोगमा ल्याइएको हो।

गिली अटोका निर्देशक झाउ जुनले यी रोबोटको प्रयोगले स्वदेशी उपकरणहरू बलियो र गुणस्तरीय रहेको प्रमाणित गरेको बताए। सिएसुनले कम्पनीको आवश्यकताअनुसार नै यी रोबोटहरू तयार पारेको हो। स्वदेशी उपकरणलाई आवश्यकताअनुसार फेरबदल गर्न सकिनु नै यसको सबैभन्दा राम्रो पक्ष भएको जुनले खुलाए।

यी रोबोटको प्रयोगपछि उत्पादनको काममा निकै सुधार आएको छ। अहिले यो कारखानाबाट हरेक ५० सेकेन्डमा एउटा नयाँ कार तयार भइरहेको छ। सिएसुनका वरिष्ठ निर्देशक चेङ हुफेङले यी रोबोटले एउटा ‘वेल्डिङ पोइन्ट’को काम जम्मा २.२ सेकेन्डमै सिध्याउने जानकारी दिए।

सिएसुन चीनको शेनयाङमा रहेको एउटा ठूलो रोबोट बनाउने कम्पनी हो। यी रोबोटको प्रयोगले चीनको गाडी उद्योगमा स्वचालित प्रविधिको प्रयोग कति धेरै बढ्दै छ भन्ने देखाएको छ।