टेक्सासमा मालवाहक रेलभित्र ६ जनाको शव फेला
- २८ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- दक्षिणी टेक्सासमा एउटा मालवाहक रेलको डिब्बाभित्र ६ जना मृत अवस्थामा फेला परेका छन्। अमेरिका र मेक्सिकोको सीमा नजिकै रेल कम्पनी युनियन प्यासिफिकका एक कर्मचारीले ती शव देखेका हुन्।
लारेडो प्रहरी विभागले उनीहरूको मृत्यु कसरी भयो भनेर अनुसन्धान गरिरहेको छ। प्रहरी अधिकारी जोस एस्पिनोजाले धेरै व्यक्तिको ज्यान गएको यस घटनालाई अत्यन्तै दुर्भाग्यपूर्ण भनेका छन्।
आइतबार त्यस क्षेत्रको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको थियो। यसअघि सन् २०२३ मा पनि टेक्सासमा रेलमा फसेर दुई जना आप्रवासीको ज्यान गएको थियो। त्यस्तै, अघिल्लो वर्ष अत्यधिक गर्मीमा सडकमा अलपत्र परेको एउटा ठुलो ट्रकभित्र ५३ जना आप्रवासी मृत भेटिएका थिए।