कंगोमा विद्रोहीको आतंक: एक सातामा ५० जनाको ज्यान गयो
- ३० बैशाख २०८३
- १ मिनेटको पढाई
कंगो- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा विद्रोही समूह ‘एडीएफ’ले गरेको शृंखलाबद्ध आक्रमणमा पछिल्लो एक सातामा कम्तीमा ५० जना सर्वसाधारणको ज्यान गएको छ।
स्थानीय नागरिक समाजका अनुसार विद्रोहीले उत्तर किवु र इतुरी प्रान्तका गाउँहरूलाई निसाना बनाएर लुटपाट, आगजनी र अपहरण गरिरहेका छन्। गत आइतबार राति इतुरीको मामबासा क्षेत्रका माकुमो र माबुओ गाउँमा आक्रमण गरी उनीहरूले १५ जनाको हत्या गरे। गाउँमा घरहरू जलाइएको र केही स्थानीयलाई बेपत्ता पारिएको उनीहरूले बताएका छन्।
गत मार्चदेखि मामबासा क्षेत्रका २० भन्दा बढी गाउँमा विद्रोहीले आक्रमण गर्दा १३० भन्दा बढी मानिस मारिसकिएका छन्। कंगोमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनले सर्वसाधारणमाथिको यो आक्रमणको कडा निन्दा गरेको छ। यद्यपि, कंगो सरकारले भने यसबारे अहिलेसम्म कुनै आधिकारिक भनाइ बाहिर ल्याएको छैन।
‘एडीएफ’ मुख्यतया युगान्डाको विद्रोही समूह हो। कंगो र युगान्डाको सेनाले सन् २०२१ को अन्त्यदेखि यो समूहलाई नियन्त्रण गर्न संयुक्त अभियान चलाइरहेका छन्। तर, सेनाको कारबाही चलिरहँदा पनि विद्रोहीले पूर्वी कंगोमा आफ्नो प्रभाव झन् बढाइरहेको स्थानीय पर्यवेक्षकले बताएका छन्।