२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई थप ४ वर्ष जेल सजायको माग

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई थप ४ वर्ष जेल सजायको माग

सियोल- दक्षिण कोरियाका विशेष अभियोजकले पूर्वराष्ट्रपति युन सुक-योललाई राजनीतिक कोष कानुन तोडेको आरोपमा थप चार वर्षको जेल सजाय माग गरेका छन्। युन र उनकी पत्नी जोडिएको भ्रष्टाचार काण्डको अनुसन्धान गरिरहेको टोलीले मंगलबार यस्तो माग गरेको हो।

युनले चुनावअघि एक राजनीतिक बिचौलियाबाट ५८ पटकसम्म सित्तैमा जनमत सर्वेक्षणको सुविधा लिएको आरोप छ। त्यसको बदलामा उनले र उनकी पत्नीले एक पूर्वसांसदलाई चुनावमा उम्मेदवार बनाउन मिलेमतो गरेको दाबी गरिएको छ। यो घटनामा जोडिएका ती बिचौलियालाई पनि तीन वर्ष जेल सजाय माग गरिएको छ।

पूर्वराष्ट्रपति युन अहिले नै राज्यद्रोहको मुद्दामा जन्मकैदको सजाय काटिरहेका छन्। उनले सन् २०२४ को डिसेम्बरमा देशमा सैन्य शासन लागू गर्न खोजेका थिए, जसलाई संसद्ले केही घण्टामै खारेज गरिदिएको थियो। त्यही कदमलाई राज्यद्रोह मान्दै उनलाई जन्मकैदको फैसला सुनाइएको थियो।

सन् २०२५ को अप्रिलमा महाभियोग पास भएपछि उनी पदबाट हटेका थिए। पदमा हुँदै पक्राउ पर्ने र मुद्दा खेप्ने उनी दक्षिण कोरियाको इतिहासकै पहिलो राष्ट्रपति हुन्।