२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

चीन र घानाबीचको व्यापार १९ प्रतिशतले बढ्यो

चीन र घानाबीचको व्यापार १९ प्रतिशतले बढ्यो

न्युयोर्क- सन् २०२५ मा चीन र घानाबीचको व्यापारमा ठूलो वृद्धि भएको छ। घानाका लागि चिनियाँ राजदूत कङ सोङकका अनुसार दुई देशबीचको व्यापार अघिल्लो वर्षभन्दा १९.३ प्रतिशतले बढेर करिब १४ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ।

राजधानी अक्रामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजदूत कङले चीन घानाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहिरहेको जानकारी दिए। उनले दुई देशबीचको राम्रो सम्बन्धले व्यापार बढाउन मद्दत गरेको बताए।

गत मे १ देखि ५३ अफ्रिकी देशका लागि चीनले ल्याएको ‘शून्य भन्सार नीति’ले आगामी दिनमा व्यापार झन् बढ्ने विश्वास उनले व्यक्त गरे। नयाँ नीतिले गर्दा घानाका कोको, काजु, सिया बटर, कपडा र हस्तकलाका सामान सजिलै चिनियाँ बजारमा निर्यात हुनेछन्। यसले घानाका उत्पादनको बिक्री र निर्यात बढ्ने चिनियाँ पक्षको दाबी छ।

नयाँ व्यवस्थाले सेवा, डिजिटल व्यापार र हरित उद्योगमा पनि सहकार्य बढाउने राजदूतले उल्लेख गरे। उनका अनुसार यस नीतिले विदेशी लगानी भित्र्याउन र अफ्रिकी देशहरूमा उद्योग बढाउन मद्दत गर्नेछ।

आर्थिक सहकार्यबारे बोल्दै राजदूत कङले चीन र घानाको विकास गर्ने सोच मिल्दोजुल्दो रहेको बताए। चीनको पुँजी र प्रविधि घानाको विकासका लागि आवश्यक रहेकाले धेरै क्षेत्रमा सहकार्यको सम्भावना रहेको उनको भनाइ छ। उनले घानाको विकास र आर्थिक गतिविधि बढाउन चीन सधैँ तयार रहेको प्रतिबद्धता दोहोर्याए।