२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

इन्डोनेसियामा विद्युतीय सवारीसाधनलाई कर छुट दिइने

इन्डोनेसियामा विद्युतीय सवारीसाधनलाई कर छुट दिइने

इन्डोनेसिया- इन्डोनेसिया सरकारले स्वच्छ ऊर्जा बढाउन र आयातित इन्धन घटाउन पेट्रोलियम र विद्युतीय सवारीसाधन (ईभी) मा फरक-फरक कर लगाउने तयारी गरेको छ।

ऊर्जा तथा खनिज स्रोत मन्त्री बहलिल लाहडालियाले पेट्रोलबाट चल्ने गाडीको तुलनामा ईभीलाई करमा विशेष छुट दिइने जानकारी दिए। जकार्तामा आयोजित कार्यक्रममा उनले ईभी सस्तो र वातावरणमैत्री हुनुका साथै यसले इन्धन आयात घटाउने बताए। ईभीको प्रयोग बढ्दा सरकारको अनुदान भार कम हुने, उपभोक्ताको खर्च घट्ने र देशको ऊर्जा सुरक्षा बलियो हुने उनले उल्लेख गरे।

यसअघि दिइएको देशव्यापी कर छुटको अवधि सकिएपछि गत अप्रिलदेखि इन्डोनेसियामा ब्याट्रीबाट चल्ने कार र मोटरसाइकलमा वार्षिक सवारी कर लाग्न थालेको छ। नयाँ व्यवस्थाअनुसार अब क्षेत्रीय सरकारहरूले ईभीका लागि छुट्टै कर तोक्न र उपभोक्तालाई आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउन सक्नेछन्।

ऊर्जा जोगाउन र दिगो बनाउन विश्वका सबै देशले आ-आफ्नै उपाय खोजिरहेको पनि मन्त्री लाहडालियाले स्पष्ट पारे।