२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

लेबनानमा इजरायलको हवाई हमला: १६ जनाको मृत्यु

लेबनानमा इजरायलको हवाई हमला: १६ जनाको मृत्यु

लेबनान- इजरायली सेनाले लेबनानको बेका प्रान्तको सहमार सहरमा कडा हवाई हमला गरेको छ। सेनाले ठाउँ खाली गर्न चेतावनी दिएको केही बेरमै बमबारी सुरु गरेपछि स्थानीय बासिन्दाहरू सुरक्षित ठाउँतिर भाग्न बाध्य भएका छन्। आक्रमणले गर्दा सहमारका धेरै घरमा आगो लागेको छ र ठूलो भौतिक क्षति भएको छ।

गत अप्रिल १६ मा युद्धविराम सम्झौता भए पनि दक्षिण र पूर्वी लेबनानमा आक्रमण रोकिएको छैन। मंगलबार मात्रै दक्षिण लेबनानमा भएका इजरायली आक्रमणमा १६ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। आक्रमणपछि आफ्नो भत्किएको घर हेर्न फर्केकी स्थानीय दुनिया अलाद्दिनले घरमा क्षति पुगे पनि आफूहरू नडराउने बताइन्।

लगातारको युद्धले मानिसहरूमा गहिरो मानसिक असर परेको भन्दै लेबनानी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्री रकान नसरुद्दीनले युद्धबाट प्रभावित नागरिकका लागि २४ सै घण्टा चल्ने मानसिक स्वास्थ्य फोन सेवा (हटलाइन) सुरु गरेको जानकारी दिए।

मन्त्री नसरुद्दीनका अनुसार युद्ध सुरु भएदेखि हटलाइनमा ३,१८२ वटा कल आएका छन् भने १६८ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनीहरूको उपचार खर्च मन्त्रालयले नै व्यहोर्ने उनले बताए। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत मार्च २ देखि अहिलेसम्म इजरायली आक्रमणमा परेर लेबनानमा २,८८२ जनाको मृत्यु भइसकेको छ भने ८,७६८ जना घाइते भएका छन्।