२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अफ्रिकाको विकासका लागि नयाँ आर्थिक संरचना आवश्यक: ‘अफ्रिका फरवार्ड समिट’ सम्पन्न

अफ्रिकाको विकासका लागि नयाँ आर्थिक संरचना आवश्यक: ‘अफ्रिका फरवार्ड समिट’ सम्पन्न

केन्या- केन्याको राजधानी नैरोबीमा पहिलो ‘अफ्रिका फरवार्ड समिट’ सम्पन्न भएको छ। सम्मेलनमा विश्वका नेताहरूले अफ्रिकाको आर्थिक विकासका लागि नयाँ वित्तीय संरचना अपनाउनुपर्नेमा जोड दिएका छन्।

केन्याका राष्ट्रपति विलियम रुटो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको अध्यक्षतामा भएको दुई दिने सम्मेलनमा २० भन्दा बढी देशका प्रमुख र २५ सयभन्दा धेरै लगानीकर्ता तथा व्यवसायी सहभागी थिए। सम्मेलनमा बोल्दै केन्याका राष्ट्रपति रुटोले अहिलेको अन्तर्राष्ट्रिय वित्तीय प्रणाली असमान रहेको बताए। उनले अफ्रिकी देशहरूले चर्को ब्याजदरको सामना गर्नुपरेको भन्दै अबको युग परनिर्भरताको नभई लगानी र साझेदारीको हुनुपर्नेमा जोड दिए।

त्यस्तै, फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अफ्रिकाले भोगिरहेको आर्थिक असमानता अन्यायपूर्ण रहेको बताए। उनले अहिलेको वित्तीय संरचना अफ्रिकाको विकासका लागि मुख्य बाधक बनेको तर्क गरे।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अहिलेका वित्तीय संस्थाहरू अफ्रिकाको विकास गर्न सक्षम नरहेको बताए। उनले अफ्रिकी देशहरूलाई सस्तो ऋणको व्यवस्था गर्न माग गर्दै राष्ट्रसंघीय सुरक्षा परिषद्मा अफ्रिकाको स्थायी प्रतिनिधित्व नहुनु ऐतिहासिक अन्याय भएको बताए।

अफ्रिकी संघ आयोगका अध्यक्ष महमुद अली युसुफले अफ्रिकाभित्रै रहेको पुँजीलाई पूर्ण रूपमा प्रयोग गर्न नसकिएको बताए। उनले विदेशी ऋणदातामाथिको निर्भरता कम गर्न अफ्रिकी नेतृत्वमै वित्तीय संस्थाहरू स्थापना गर्ने रणनीति अघि बढाइएको जानकारी दिए।