वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन बढ्यो, नियन्त्रण र उद्धारमा चुनौती
- ३१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपालमा वैदेशिक रोजगारी र बसाइँसराइको नाममा हुने मानव बेचबिखन डरलाग्दो रूपमा बढेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक हरिबहादुर ओलीले बेचबिखनको तरिका फेरिँदा नियन्त्रण र उद्धारमा ठूलो चुनौती थपिएको बताए। पुरानो कानुनले जबर्जस्ती श्रम र नयाँ खालका समस्यालाई सम्बोधन गर्न नसकेकाले कानुन संशोधनको तयारी भइरहेको उनले जानकारी दिए।
गत आर्थिक वर्षमा ओमान, कुवेत, युएई लगायतका खाडी देश, युरोप र एसियाली देशहरूबाट सयौं पीडितको उद्धार गरिएको छ। म्यानमार र कम्बोडियाबाट ३३८ जना तथा अमेरिका जाने अवैध बाटो हुँदै गएका ९६३ जना देश निकाला भएर फर्किएका छन्। यसरी फर्किनेमा सबैभन्दा धेरै दाङ र रुकुमका छन्।
पछिल्लो समय कम्बोडिया र म्यानमारमा नेपालीलाई बन्धक बनाएर अनलाइन ठगीमा लगाउने र यातना दिने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। अमेरिका जाने लोभमा दलालहरूले अफ्रिकी देश र मेक्सिको हुँदै अवैध बाटोबाट लैजाँदा मानिसहरू बन्धक पर्ने र कुटिने गरेका छन्। दलालले कुटपिटको भिडियो बनाएर परिवारसँग गैरकानुनी माध्यम (हुन्डी) बाट पैसा माग्ने गरेका छन्। प्रमाण नहुने, उजुरी दिन नमान्ने, भिजिट भिसाको दुरुपयोग बढ्ने र धेरै देशमा नेपाली दूतावास नहुँदा उद्धारमा समस्या भएको एसपी ओलीले बताए।
रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले कानुनको पालना नहुँदा मानव बेचबिखन र श्रम शोषण बढेको बताइन्। उनले नाचघर, मालिस केन्द्र र सांगीतिक क्षेत्रमा महिला तथा बालबालिका बाध्यताले शोषणमा परेको उल्लेख गरिन्। भारतसँगको खुला सिमानाले गर्दा नेपाली महिला शोषणको उच्च जोखिममा रहेको उनको भनाइ छ। कानुनमा भएका महिलालाई अपमान गर्ने शब्दहरू सच्याउन पनि उनले माग गरिन्।
मानव बेचबिखन रोक्न स्वदेशमै कृषि र उत्पादनका क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। विदेश जानुअघि आफ्ना कागजात घरमा छोड्न र सीप सिकेर मात्र जान उपप्रमुख चौधरीले सुझाव दिइन्।