२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकी केन्द्रीय बैंकको नयाँ अध्यक्षमा केभिन वार्स

अमेरिकी केन्द्रीय बैंकको नयाँ अध्यक्षमा केभिन वार्स

न्युयोर्क- अमेरिकी सिनेटले केभिन वार्सलाई ‘फेडरल रिजर्भ सिस्टम’ (अमेरिकी केन्द्रीय बैंक) को नयाँ अध्यक्ष बनाएको छ। बुधबार भएको मतदानमा ५४–४५ मतसहित ५६ वर्षीय वार्स अध्यक्षमा अनुमोदन भएका हुन्।

यसअघि मंगलबार मात्रै रिपब्लिकन बहुमत रहेको सिनेटले उनलाई १४ वर्षे कार्यकालका लागि बोर्ड अफ गभर्नर्समा अनुमोदन गरेको थियो। ह्वाइट हाउसबाट अन्तिम हस्ताक्षर भएपछि उनले औपचारिक रूपमा शपथ लिनेछन्। उनले वर्तमान अध्यक्ष जेरोम पावेलको ठाउँ लिनेछन्। पावेलको कार्यकाल यसै शुक्रबार सकिँदैछ तर उनी बोर्डको गभर्नरका रूपमा भने काम गरिरहनेछन्।

सन् १९७० मा जन्मेका वार्स कानुन र वित्त क्षेत्रका जानकार हुन्। उनले सन् २००६ देखि २०११ सम्म पनि फेडरल रिजर्भको गभर्नर भएर काम गरेका थिए। विश्वव्यापी आर्थिक संकटको बेला उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

उनको नेतृत्वमा आगामी जुन १६ र १७ मा पहिलो नीति निर्धारण बैठक बस्ने अनुमान गरिएको छ। राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले वार्सको आगमनले बजारलाई राहत दिने र विस्तारै ब्याजदर घटाउन मद्दत पुग्ने बताएका छन्। वार्सले अर्थ मन्त्रालयसँग राम्रो समन्वय गर्ने र बैंकको ‘ब्यालेन्स सिट’ कटौती गर्ने जस्ता सुधारका योजना अघि सारेका छन्।