जापानको मियागी तटमा शक्तिशाली भूकम्प, पाँच प्रान्तमा चेतावनी
- ०१ जेष्ठ २०८३
- १ मिनेटको पढाई
टाेकियाे – जापानको मियागी तटमा शुक्रबार राति ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पको धक्का मियागीसहित अन्य पाँचवटा प्रान्तमा महसुस गरिएको छ।
स्थानीय समयअनुसार राति ८:२२ बजे गएको भूकम्पको केन्द्रविन्दु तटीय क्षेत्रको ४३ किलोमिटर गहिराइमा रहेको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले सुरुमा यसलाई ६.६ म्याग्निच्युड भने पनि पछि यो ६.७ म्याग्निच्युडको रहेको पुष्टि भएको हो।
भूकम्पपछि सुनामीको कुनै खतरा नभएको मौसमविद्हरूले बताएका छन्। तर सावधानी अपनाउन पाँच प्रान्तमा आपतकालीन चेतावनी जारी गरिएको छ। भूकम्पका कारण रेल सेवा रोकिएको छ भने अधिकारीहरूले भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। प्रशासनले पराकम्पन आउन सक्ने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन र सावधानी अपनाउन आग्रह गरेको छ।