२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

अजरबैजानको बाकुमा १३ औँ ‘विश्व सहरी मञ्च’ सुरु, दिगो विकासबारे छलफल

अजरबैजानको बाकुमा १३ औँ ‘विश्व सहरी मञ्च’ सुरु, दिगो विकासबारे छलफल

बाकु- तिब्र सहरीकरण र दिगो सहरी विकासबारे छलफल गर्न अजरबैजानको बाकुमा आइतबारदेखि १३ औँ ‘विश्व सहरी मञ्च’ सुरु भएको छ। आउँदो मे २२ सम्म चल्ने यो कार्यक्रममा विश्वभरका नेता, नीति निर्माता र सहरी विकास विज्ञहरू सहभागी छन्।

कार्यक्रममा सस्तो आवास, जलवायु अनुकूलन, पूर्वाधार विकास र सबैलाई समेट्ने सहरी वृद्धि जस्ता विषयमा छलफल हुनेछ। संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम र अजरबैजान सरकारले मिलेर आयोजना गरेको यो मञ्चमा पहिलोपटक ‘लिडर समिट’ (शीर्ष नेतृत्व बैठक) पनि सुरु गरिएको छ। यसमा विभिन्न देशका राष्ट्रप्रमुख र उच्च अधिकारीहरूले सहरको भविष्य र अन्तर्राष्ट्रिय सहयोगबारे कुराकानी गर्नेछन्।

मञ्चका राष्ट्रिय संयोजक अनर गुलियेभले आवास र सहरी विकासका मुद्दा अब प्राविधिक मात्र नभई उच्च स्तरीय नेतृत्व चाहिने विषय बनेको बताए। मञ्चको उद्घाटनको बेला अजरबैजानको अध्यक्षतामा ‘नयाँ सहरी एजेन्डा’ बारे मन्त्रीस्तरीय बैठक पनि बसेको थियो। जसमा अहिलेसम्मको प्रगति र आगामी चुनौतीबारे समीक्षा गरियो।

दिगो सहरीकरणबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घले सन् २००१ मा यो मञ्च स्थापना गरेको थियो। यसको पहिलो बैठक सन् २००२ मा केन्याको नैरोबीमा भएको थियो।