६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

ओमानको खाडीमा अमेरिकी सेनाले रोक्यो इरानी तेल ट्याङ्कर

ओमानको खाडीमा अमेरिकी सेनाले रोक्यो इरानी तेल ट्याङ्कर

ओमान- अमेरिकी सेनाले ओमानको खाडीमा एउटा इरानी झन्डा भएको व्यापारिक तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर खानतलासी गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले बुधबार यो जानकारी दिएको हो।

सेन्ट्रल कमान्डका अनुसार अमेरिकी मरिन कमान्डोहरूले ‘एमटी सेलेस्टियल सी’ नामको ट्याङ्करमा चढेर जाँच गरेका थिए। उक्त जहाजले अमेरिकी नाकाबन्दी तोड्दै इरानी बन्दरगाहतर्फ जान खोजेको आशंका गरिएको थियो। सेनाले खानतलासी गरेपछि चालक दललाई बाटो परिवर्तन गर्न निर्देशन दिएर ट्याङ्करलाई छोडिदिएको छ।

नाकाबन्दी कडा पार्ने क्रममा हालसम्म ९१ वटा व्यापारिक जहाजको बाटो परिवर्तन गराइएको सेन्ट्रल कमान्डले उल्लेख गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य कारबाही स्थगित गरे पनि इरानविरुद्धको नाकाबन्दी भने पूर्ण रूपमा प्रभावकारी रहने बताएका थिए।

यता, इरानले भने अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन विपरीत भन्दै विरोध गरेको छ। अरब सागर र हर्मज जलडमरूमध्यलाई जोड्ने ओमानको खाडी विश्वको इन्धन आपूर्तिका लागि निकै महत्त्वपूर्ण मानिन्छ।