इबोला संक्रमण उच्च जोखिममा, तर विश्वव्यापी महामारी होइन: डब्लूएचओ
- ०७ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च रहे पनि यो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको स्पष्ट पारेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यस्तो जानकारी दिएका हुन्।
मंगलबार बसेको डब्लूएचओको आपतकालीन समितिको बैठकले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डामा देखिएको इबोलाको वर्तमान अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा व्याख्या गरे पनि यसलाई विश्वव्यापी महामारी मान्न नसकिने निष्कर्ष निकालेको हो।
हालसम्म कङ्गोको इटुरी र उत्तरी किवु प्रान्तका बुनिया र गोमा जस्ता सहरहरूमा ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ। कङ्गोमा यो संक्रमणको स्तर अझ व्यापक हुन सक्ने अनुमान छ। यस्तै, युगान्डाको राजधानी कम्पालामा कङ्गोबाट आएका दुई व्यक्तिमा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भइसकेको छ। कङ्गोमै कार्यरत एक अमेरिकी नागरिकमा पनि संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ।
पुष्टि भएका बाहेक करिब ६०० संदिग्ध बिरामी फेला परेका छन् भने १३९ जनाको मृत्यु शंकास्पद अवस्थामा भएको छ। भाइरस पहिचान हुनुअघि नै लामो समयदेखि सक्रिय रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी महानिर्देशक टेड्रोसले दिएका छन्।
इबोलाका कारण हुने थप मानवीय क्षति रोक्न तत्काल कदम चाल्नुपर्नेमा डब्लूएचओले जोड दिएको छ। संक्रमण नियन्त्रणका लागि डब्लूएचओले जनशक्ति, स्वास्थ्य सामग्री, उपकरण र आर्थिक सहयोग परिचालन गरिसकेको छ। महानिर्देशक टेड्रोसले आपतकालीन कोषबाट थप ३४ लाख अमेरिकी डलर स्वीकृत गरेसँगै इबोला नियन्त्रणका लागि कुल सहयोग रकम ३९ लाख अमेरिकी डलर पुगेको छ।