न्युयोर्कमा ढलको खुला खाल्डोमा खसेर महिलाको मृत्यु, दुर्घटनाको कारण खुल्यो
- ०७ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित म्यानहटनमा खुला म्यानहोल (ढलको खाल्डो) मा खसेर एक महिलाको मृत्यु भएको छ। मंगलबार मध्यरातमा ५२ औं स्ट्रिट नजिकै आफ्नो गाडी रोकेर बाहिर निस्कने क्रममा ५६ वर्षीया डोनिका गोजज १० फिट गहिरो खाल्डोमा खसेकी थिइन्।
अधिकारीहरुले यो घटनालाई दुर्घटना बताए। सडकमा गुडिरहेको एउटा ठूलो ट्रकले म्यानहोलको ढकनी उप्काएको र त्यसको करिब १२ मिनेटपछि डोनिका त्यहाँ पुगेकी थिइन्। सिसी क्यामेराको भिडियो हेर्दा ट्रकले ढकनी हटाएको देखिएको ऊर्जा कम्पनी कन एडिसनले बतायो।
चिकित्सकहरुले उनको मृत्यु दुर्घटनाबाटै भएको पुष्टि गरे। तातोले पोलेको, धुवाँका कारण श्वासप्रश्वासमा असर परेको र छातीमा गम्भीर चोट लागेका कारण उनको ज्यान गएको उनीहरुले बताए। यो घटनापछि न्युयोर्कका बासिन्दा र पर्यटकहरु सडकमा हिँड्न त्रसित बनेका छन्। अहिले नगरका अधिकारीहरु र कन एडिसन कम्पनी मिलेर यस घटनाको थप अनुसन्धान गरिरहेका छन्।