विश्वभर हर्षोल्लासका साथ मनाइँदै बकर इद
- १४ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ‘इदुल जोहा’ अर्थात् बकर इद आज विश्वभर हर्षोल्लासका साथ मनाइँदैछ। बिहीबार जनकपुरधामसहित देशभरका विभिन्न मस्जिदमा प्रार्थना गर्नेहरूको ठूलो भीड लागेको छ।
यो पर्वलाई विशेष गरी त्याग, बलिदान र ईश्वरप्रतिको आस्थाको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार अल्लाहको आदेश पालना गर्दै पैगम्बर इब्राहिमले आफ्नो सबैभन्दा प्यारो छोरा इस्माइललाई बलिदान दिन लाग्दा अल्लाहको चमत्कारले भेडाको बलि भएको विश्वास गरिन्छ। यही ऐतिहासिक घटनाको सम्झनामा १४ सय वर्षभन्दा अघिदेखि यो पर्व मनाउन थालिएको हो।
आज मुस्लिम समुदायका मानिस बिहानै नुहाएर, सफा लुगा लगाई मस्जिद वा इदगाहमा सामूहिक नमाज पढ्छन्। नमाज सकिएपछि उनीहरू एक–आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्छन्। क्षमता हुनेहरूले आज स्वस्थ जनावरको कुर्बानी (बलि) दिन्छन्, जसलाई उनीहरू अनिवार्य कर्तव्य मान्छन्।
बकर इदले समाजमा खुसीयाली र भाइचारा फैलाउन मद्दत गर्छ। यो परम्पराले मानिसमा त्यागको भावना जगाउने र ईश्वरप्रति समर्पित हुन प्रेरित गर्ने धार्मिक अगुवाहरूले बताएका छन्।