२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नेपाललाई एआई युगमा लैजाने बजेटको घोषणा: स्यूचाटारमा एआई कम्प्युट केन्द्र खुल्ने

नेपाललाई एआई युगमा लैजाने बजेटको घोषणा: स्यूचाटारमा एआई कम्प्युट केन्द्र खुल्ने

काठमाडौं- सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको युगमा प्रवेश गराउने महत्वाकांक्षी योजना बजेटमा ल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा एआई पूर्वाधार, जनशक्ति र डिजिटल अर्थतन्त्रलाई विशेष प्राथमिकता दिइएको छ।

बजेटअनुसार काठमाडौँको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिनेछ। यस केन्द्रका लागि हजारौँ एआई प्रोसेसिङ युनिटहरू किनेर एआई उद्यमी, अनुसन्धानकर्ता र स्टार्टअप कम्पनीहरूलाई सस्तो दरमा उपलब्ध गराइने सरकारको योजना छ। नेपालको जलविद्युत ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्दै डिजिटल अर्थतन्त्रसँग जोडिने बजेटमा उल्लेख छ।

सरकारले विदेशमा एआई क्षेत्रमा काम गरिरहेका नेपाली प्रतिभाहरूलाई स्वदेश फर्काउने रणनीति समेत बनाएको छ। आगामी वर्ष अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका कम्तीमा १५ जना नेपाली एआई शोधकर्तालाई फेलोसीप दिएर नेपालमै अनुसन्धान र नीति निर्माणमा खटाइनेछ। एआई विकासका लागि जग मानिने गणित, विज्ञान र प्रविधि शिक्षालाई विद्यालय तथा उच्च शिक्षामा थप मजबुत बनाउने घोषणा सरकारले गरेको छ।