२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकाको नेवार्कमा प्रदर्शनकारी र प्रहरीबीच झडप, डेलेनी हल वरपर कर्फ्यु लागू

अमेरिकाको नेवार्कमा प्रदर्शनकारी र प्रहरीबीच झडप, डेलेनी हल वरपर कर्फ्यु लागू

न्युयोर्क- अमेरिकाको न्युजर्सी राज्यस्थित नेवार्क सहरका मेयरले एउटा अध्यागमन थुवा केन्द्र वरपर रात्रिकालीन कर्फ्यु लगाएका छन्। शनिबार राति प्रदर्शनकारी र प्रहरीबीच उग्र झडप भएपछि आइतबार बिहानैदेखि कर्फ्यु आदेश दिइएको हो।

मेयर रास बाराकाले विज्ञप्ति निकाल्दै डेलेनी हल थुवा केन्द्र वरपर राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने बताए। अर्को सूचना नआएसम्म यो नियम लागू हुनेछ।

थुवा केन्द्रबाहिर लगातार प्रदर्शन र झडप भइरहेको छ। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए भने केहीले प्रहरीतर्फ विभिन्न वस्तु प्रहार गरेका थिए। भिड नियन्त्रण गर्न प्रहरीले ढालको प्रयोग गर्नुका साथै घोडामा चढेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो।

१ हजार जना अटाउने उक्त थुवा केन्द्रभित्रको अवस्था निकै खराब रहेको भन्दै त्यहाँ रहेका मानिसले भोक हडताल सुरु गरेका थिए। त्यसैको समर्थनमा यसै महिनाको सुरुदेखि बाहिर प्रदर्शन हुँदै आएको छ।

न्युजर्सीकी गभर्नर मिकी शेरिलले केही नकाबधारी व्यक्तिले शान्तिपूर्ण प्रदर्शनलाई बिथोलेर हिंसा मच्चाएको बताइन्। उनले यस्ता कार्यले सबैलाई खतरामा पार्ने भन्दै शान्त रहन आग्रह गरिन्। यसैबीच, अमेरिकी सरकारले हिंसात्मक प्रदर्शनका कारण रोकेको थुवा केन्द्रभित्रको पारिवारिक भेटघाट आइतबारदेखि फेरि खुला गरेको छ।