२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

कंगोमा इबोला संक्रमित महिला निको भएर घर फर्किइन्

कंगोमा इबोला संक्रमित महिला निको भएर घर फर्किइन्

न्युयोर्क- प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को उत्तर किभु प्रान्तको राजधानी गोमामा इबोला भाइरसबाट संक्रमित एक बिरामी निको भएकी छन्। चिकित्सक टोलीले संक्रमणमुक्त भएको पुष्टि गरेपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो।

उपचारमा संलग्न स्थानीय चिकित्सक बार्थेलेमी अक्सान्तीका अनुसार बिरामीको सकारात्मक सहयोग र साहसका कारण उपचार सफल भएको हो। डिआरसी सरकारले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३४४ जनामा इबोला संक्रमण पुष्टि भएको छ। जसमध्ये ६० जनाको मृत्यु भइसकेको छ भने हालसम्म ६ जना निको भएर घर फर्किएका छन्।

परोपकारी संस्था डक्टर्स विदाउट बोर्डर्सले गोमामा ८० बेडको इबोला उपचार केन्द्र सञ्चालन गरिरहेको छ। पूर्वी कंगोको प्रमुख सहर गोमा सन् २०२५ को सुरुदेखि नै विद्रोही समूहको नियन्त्रणमा रहेकाले स्वास्थ्य सेवा पुर्‍याउन कठिन भइरहेको छ। यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षा चुनौतीका बावजुद यस क्षेत्रमा आफ्नो काम कायमै राखेको छ।

डब्लुएचओले गत मे १७ मा डिआरसी र युगान्डामा फैलिएको इबोला प्रकोपलाई ’अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको थियो। हाल फैलिएको इबोला भाइरसको बुन्डिबुग्यो प्रजातिका लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार पद्धति उपलब्ध छैन।