एल निनोका कारण विश्वभर चरम मौसमी जोखिम बढ्ने चेतावनी
- २२ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले प्रशान्त महासागरमा एल निनोको अवस्था विकसित भइरहेको बताएको छ। यसले आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम र वर्षाको चक्रमा गम्भीर असर पार्ने र चरम मौसमी घटनाको जोखिम बढाउने संगठनको भनाइ छ।
डब्ल्युएमओका महासचिव सेलेस्टे साउलोले सम्भावित शक्तिशाली एल निनोका लागि पूर्वतयारी गर्न आवश्यक रहेको बताइन्। प्रतिवेदनअनुसार सन् २०२६ को जुनदेखि अगस्टसम्म एल निनो विकसित हुने सम्भावना ८० प्रतिशत र सेप्टेम्बरदेखि डिसेम्बरसम्म ९० प्रतिशत पुग्ने छ। सन् २०२३–२०२४ को एल निनो इतिहासकै शक्तिशाली मध्ये एक थियो, जसले तापक्रमको नयाँ रेकर्ड बनाएको उनले उल्लेख गरिन्। जनधनको क्षति कम गर्न पूर्व चेतावनी प्रणाली अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ छ।
यसैगरी, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत एल निनोले विश्वव्यापी तापक्रम वृद्धिको समस्यालाई थप भयावह बनाउने बताएका छन्। उनले जलवायु संकट समाधान गर्न खनिज इन्धनको प्रयोग अन्त्य गर्न, नवीकरणीय ऊर्जा बढाउन र सबैका लागि पूर्व चेतावनी प्रणाली सुनिश्चित गर्न विश्व समुदायसँग आग्रह गरेका छन्।