२२ जेष्ठ २०८३, शुक्रबार
5 June 2026, Friday

डेँगी रोक्न गुगलको अनौठो रणनीति: ३ करोड २० लाख लामखुट्टे छोडिने

डेँगी रोक्न गुगलको अनौठो रणनीति: ३ करोड २० लाख लामखुट्टे छोडिने

न्युयोर्क- गुगलको अनुसन्धान परियोजना ‘डिबग’ ले डेँगी, जिका र पहेँलो ज्वरोजस्ता रोग नियन्त्रण गर्न एउटा अनौठो रणनीति अघि सारेको छ। यस योजना अन्तर्गत अमेरिकाको फ्लोरिडा र क्यालिफोर्नियामा ३ करोड २० लाख बाँझा भाले लामखुट्टे छोड्ने तयारी गरिएको छ। यस अभियानलाई गुगलको ‘लामखुट्टे सेना’ नाम दिइएको छ।

वैज्ञानिकहरूका अनुसार रोग फैलाउने ‘एडिस एजिप्टाई’ प्रजातिको संख्या घटाउन ‘वोल्बाचिया’ नामक ब्याक्टेरिया संक्रमित भाले लामखुट्टेहरू प्रकृतिमा छोडिनेछन्। ती भाले लामखुट्टेसँग पोथीले समागम गरेपछि अण्डाबाट बच्चा निस्कँदैनन्। यसले गर्दा बिस्तारै यो प्रजातिको संख्या घट्दै जानेछ। भाले लामखुट्टेले मानिसलाई नटोक्ने भएकाले यसबाट सर्वसाधारणलाई कुनै जोखिम नहुने दाबी अनुसन्धानकर्ताहरूको छ।

यो लामखुट्टे अमेरिकाको रैथाने प्रजाति नभएकाले यसको संख्या घटाउँदा स्थानीय पर्यावरण वा जीवजन्तुको खाद्य शृङ्खलामा कुनै असर नपर्ने विज्ञहरूले बताए। विश्वका विभिन्न देशमा यो प्रविधि प्रयोग भइरहेको र यसले डेँगीको प्रकोप उल्लेखनीय रूपमा घटाएको पाइएको छ। जनस्वास्थ्यको सुरक्षाका लागि यस्तो वैज्ञानिक हस्तक्षेप आवश्यक भएको कीराविज्ञहरूले बताए।