२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अस्ट्रेलियामा एक लाख अवैध साङ्ला बरामद

अस्ट्रेलियामा एक लाख अवैध साङ्ला बरामद

सिड्नी- अस्ट्रेलियाका अधिकारीहरूले न्यु साउथ वेल्स राज्यमा छापा मारेर एक लाखभन्दा बढी अवैध साङ्ला बरामद गरेका छन्।

कालोबजारमा करिब एक लाख ४२ हजार डलर मूल्य पर्ने यी साङ्लाहरू मडागास्कर र डुबिया प्रजातिका हुन्। अस्ट्रेलियाको कानुनअनुसार यी प्रजातिका साङ्ला देशमा ल्याउन, पाल्न र बेच्न पाइँदैन।

सिड्नीबाट करिब दुई सय किलोमिटर टाढा बाथर्स्ट भन्ने सहरमा गत मे महिनामा यो छापा मारिएको थियो। अधिकारीहरूका अनुसार अस्ट्रेलियामा यति धेरै सङ्ख्यामा अवैध किरा समातिएको यो पहिलो पटक हो।

मानिसहरूले घरमा पालेका घस्रने जनावरलाई आहारा खुवाउन यी साङ्लाको अवैध प्रजनन र व्यापार गर्ने गरेको अधिकारीहरूले बताए। अस्ट्रेलियाको वातावरण विभागले यसरी समातिएका सबै साङ्लालाई मारिने जानकारी दिएको छ।