इरान ‘बलियो र अभिमानी’ भएकाले सम्झौतामा ढिलाइ : ट्रम्प
- २३ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरू ‘बलियो र अभिमानी’ भएका कारण युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न ढिलाइ भएको बताए। एनबीसी न्युजको ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै उनले इरानले ढिलोचाँडो सम्झौता गर्नैपर्ने दाबी गरे।
ट्रम्पले भने, “उनीहरू बलियो र अभिमानी छन्। उनीहरूले कहिल्यै नसोचेका कुराहरू अब गर्नुपर्नेछ। उनीहरूसँग कुनै विकल्प छैन, तर यसका लागि केही समय लाग्छ।”
अमेरिका र इरानबीच चौथो महिनामा प्रवेश गरेको युद्ध अन्त्यका लागि वार्ता भइरहेको छ। गत अप्रिलमा भएको युद्धविराम सम्झौता पटक-पटक लम्ब्याइए पनि हालै समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ नजिकै दुवै देशबीच फेरि आक्रमणका घटना भएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘अपरेसन एपिक फ्युरी’ नामक सैन्य कारबाही सकिएको जानकारी दिए। उनले हालैका अमेरिकी आक्रमणहरू इरानले पानीजहाजमाथि गरेको आक्रमणको जवाफ र बचाउमा मात्र भएको स्पष्ट पारे।
युद्धका कारण इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेपछि विश्वभर तेलको मूल्य बढेको छ। यसले अमेरिकामा पनि इन्धनको मूल्य बढाएको छ, जसले गर्दा ट्रम्पमाथि सम्झौता गरेर आर्थिक दबाब कम गर्न माग बढेको छ।
चाँडै सम्झौता गर्न सुझाव दिनेहरूको आलोचना गर्दै ट्रम्पले यो युद्धलाई भियतनाम युद्धसँग तुलना गरे। “भियतनाम युद्ध १९ वर्ष चलेको थियो। म त भर्खर तेस्रो महिनामा छु र धेरै छिटो अघि बढिरहेको छु,” उनले भने।
ट्रम्पका अनुसार अमेरिकाले इरानको अधिकांश सैन्य र हतियार उत्पादन क्षमता नष्ट गरिसकेको छ। अहिले इरानसँग युद्ध सुरु हुनुअघिको तुलनामा करिब २१ देखि २२ प्रतिशत मात्र मिसाइल बाँकी रहेको उनले बताए। यद्यपि, इरानले हालै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थललगायतका क्षेत्रमा आक्रमण गरेर आफूसँग अझै हतियार रहेको देखाएको छ।
ट्रम्पले आगामी दिनमा इरानमाथिको नाकाबन्दी खुल्न सक्ने वा सम्झौता नभएमा अमेरिकाले ‘अर्को बाटो’ अपनाउन सक्ने चेतावनी पनि दिए।