२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हावा चुहावट: जोखिम बढेपछि अन्तरिक्ष यात्रीलाई सुरक्षित यानमा सारियो

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हावा चुहावट: जोखिम बढेपछि अन्तरिक्ष यात्रीलाई सुरक्षित यानमा सारियो

न्युयोर्क- अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा हावा चुहावट भएपछि पाँच जना अन्तरिक्ष यात्रीलाई सुरक्षित यानमा सारिएको छ। केन्द्रको रुसी नियन्त्रणमा रहेको भागमा मर्मत गर्दा जोखिम हुन सक्ने देखिएपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शुक्रबार यो निर्देशन दिएको हो।

रुसी अन्तरिक्ष एजेन्सी ‘रोसकोसमोस’ ले हावा चुहावट भइरहेको ठाउँमा मर्मत गर्न एउटा भाग काट्ने योजना बनाएको थियो। तर यो कामले केन्द्रको संरचनामा थप जोखिम निम्त्याउन सक्ने भन्दै नासाले आफ्ना यात्रीहरूलाई आपतकालीन उद्धारका लागि तयार रहन भनेको थियो। यसपछि नासाका तीन जनासहित पाँच यात्री स्पेसएक्सको ‘ड्रागन’ यानमा गएर बसेका थिए।

पछि रुसी टोलीले थप अध्ययन गर्नुपर्ने भन्दै मर्मतको काम तत्कालका लागि रोकेको थियो। मर्मत रोकिएपछि नासाले पनि यात्रीहरूलाई सुरक्षित यानबाट बाहिर आउन अनुमति दिएको छ। नासाले रुसको यो निर्णयलाई सही मानेको छ।

सन् २०१९ देखि नै आईएसएसको रुसी खण्ड ‘ज्वेज्दा’ मोड्युलमा हावा चुहावटको समस्या देखिँदै आएको छ। गत अप्रिलमा नयाँ कार्गो यान आउँदा यो समस्या झनै बढेको पाइएको थियो। रुसी अधिकारीहरूले भने यसबाट यात्रीहरूको ज्यानमा कुनै खतरा नभएको दाबी गरेका छन्। उनीहरूले एउटा चुहावट बन्द गरिसकेको र अर्कोमा काम भइरहेको बताएका छन्।

२५ वर्ष पुरानो भइसकेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई नासाले सन् २०३० सम्म सञ्चालन गर्ने लक्ष्य राखेको छ। तर रुसले भने सन् २०२८ सम्म मात्रै सञ्चालनमा साथ दिने बताएको छ। यसले भविष्यमा अन्तरिक्ष केन्द्रको सञ्चालनमा चुनौती थप्न सक्ने देखिएको छ।