न्युजर्सीको एक घरमा भीषण आगलागी, ११ वर्षीय बालकको मृत्यु
- २३ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युजर्सीको पर्थ एम्बोयमा शुक्रबार बिहान भएको भीषण आगलागीमा परी एक ११ वर्षीय बालकको ज्यान गएको छ।
प्रहरीका अनुसार चौन्सी स्ट्रिटमा रहेको एक आवासीय भवनमा बिहान करिब ३ बजे आगो लागेको थियो। खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर स्थानीयको उद्धारमा जुटेको थियो। ६ वटा अपार्टमेन्ट रहेको उक्त भवनमा करिब २५ जना बस्दै आएका थिए।
आगलागीमा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट क्षेत्रीय बर्न सेन्टर लगिएको छ। उद्धारका क्रममा एक सर्वसाधारण, एक अग्निनियन्त्रक र एक प्रहरी अधिकारी सामान्य घाइते भएका छन्। उनीहरूको घटनास्थलमै उपचार गरिएको छ।
आगलागीको कारणबारे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्। पर्थ एम्बोयका मेयर हेल्मिन काबाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारको गोपनीयताको सम्मान गर्न र उनीहरूलाई आत्मिक शक्तिको कामना गर्न समुदायलाई आग्रह गरेका छन्।