६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

कङ्गोमा इबोला महामारी तीव्र: २० हजारभन्दा बढी संक्रमित हुन सक्ने चेतावनी

कङ्गोमा इबोला महामारी तीव्र: २० हजारभन्दा बढी संक्रमित हुन सक्ने चेतावनी

न्युयोर्क- प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगान्डामा फैलिएको इबोला महामारी नियन्त्रण बाहिर गएमा २० हजारभन्दा बढी मानिस संक्रमित हुन सक्ने अमेरिकी स्वास्थ्य निकाय सिडिसीले चेतावनी दिएको छ। सिडिसीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा खराब स्थिति आएमा यस महामारीका कारण २ हजारभन्दा बढीको मृत्यु हुन सक्छ।

यो महामारी इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिका कारण फैलिएको हो, जसको हालसम्म कुनै निश्चित खोप वा उपचार उपलब्ध छैन। अहिलेको अवस्था अनुसार संक्रमितमध्ये २० प्रतिशत मात्र आइसोलेसनमा बस्ने र स्वास्थ्य सेवाको पहुँच सीमित हुने हो भने अवस्था भयावह बन्ने प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ३९७ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ६५ जनाको मृत्यु भएको छ।

सिडिसीका अधिकारी जेसन एसरले यो केवल सम्भावित प्रक्षेपण भएको र यसले महामारी नियन्त्रणका लागि पूर्वतयारी गर्न मद्दत पुग्ने बताए। यस्तै, संक्रामक रोग विशेषज्ञ डा. क्रुतिका कुप्पल्लीले अन्तर्राष्ट्रिय समुदायले बेलैमा कदम चालेमा यो महामारीलाई रोक्न सकिने उल्लेख गरिन्। द्वन्द्वग्रस्त क्षेत्र भएका कारण संक्रमितको पहिचान र उपचारमा कठिनाइ भइरहेको समाचारमा जनाइएको छ।